ओलीले ईतिहासमा कलंकको टीका लगाए, त्यो कहिल्यै मेटिने छैनः प्रचण्ड

काठमाडौं, १४ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले ईतिहामा कहिल्यै नमेटिने गरी कलंकको टीका लगाएको बताएका छन् ।

नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेर आफैले बनाएको संविधानको ओलीले बलात्कार गरेको बताए ।

उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’ उनले भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफीसमेत मागेका छन् । आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको लागेको भन्दै प्रचण्डले जनतासँग माफी मागेका हुन् ।

‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’ तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै प्रचण्डले भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’ ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको उनले स्मरण गराए । उनले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको प्रचण्डको भनाई छ । प्रचण्डले नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरेका छन् ।

केपी ओली वैशाखपछि प्रधानमन्त्री रहँदैनन्, चुनाव पनि हुँदैन
प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहनेसमेत दाबी गरेका छन् । उनले भने, ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ । प्रचण्डले भने, ‘त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने प्रचण्डको भनाई छ । प्रचण्ड भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’

छाड्ने बाला छैनौं
प्रचण्डले संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको बताए । प्रचण्डले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने बाला छैनौं ।’



यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति