काठमाडौं, १२ पुष । जापानमा कोरोना भाईरस (कोभिड-१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारदेखि नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाएको छ ।
जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने जापानको विदेशमन्त्रालयले उल्लेख गरेको खबर छ ।
जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने जापानको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो । कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखा परेको थियो ।
प्रतिक्रिया