कोरोना कहर: १० महिनापछि पर्यटक गणना शुरु

इलाम, १२ पुस । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे ।

गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे । एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने इलाममा यो बेला झनै महोत्सवैमहोत्सव हुन्थ्यो होला तर अहिले यसको ठीकविपरीत भइरहेको छ ।

जिल्लामा अहिले न महोत्सव छन्, न पर्यटन प्रवद्र्धनका गतिविधि । प्रवद्र्धनका भएका कार्यक्रम पनि चासो र तामझामसहितका छैनन् । कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले गणना गर्नसमेत सकेन । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा सधैँ पर्यटकको गणनाका लागि कुर्सी राखिन्थ्यो ।

इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो तर कोरोनाले यो शृङ्खला टुटाइदियो । चैतको पहिलो साता शुरु भएको बन्दाबन्दीले पर्यटक गणना गर्न सकिएन । पुसको शुरुबाट गणना शुरु त गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार सदाजस्तो पर्यटक यस वर्ष आएका छैनन् ।

सूचना केन्द्रले ठूला सवारी बस र ट्याक्सीमा सवार पर्यटकको सङ्ख्या राख्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसक्दा पर्यटक नआएको घिमिरेको बुझाइ छ । विशेषतः इलाम घुम्न आउने पर्यटकको रोजाइमा श्रीअन्तु, कन्याम र सन्दकपुर र माईपोखरी पर्छन् । सूर्योदय र सूर्यास्तका लागि नेपालकै उत्कृष्ट श्रीअन्तुमा विगत वर्षमा पर्यटकको बाक्लो सङ्ख्यामा आगमन हुन्थ्यो । हरियो चियाबारी घुम्न र मनोरम क्षेत्र अवलोकनका लागि कन्याम आउनेको सङ्ख्या पनि कम हुँदैन थियो । सरकारले बन्दाबन्दी खोलेपछि पर्यटन व्यवसायीले पनि केही कोरोनाका मापदण्ड तोकेर पर्यटकलाई स्वागत गर्ने योजना बनाए ।

मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक आए तर सदाजस्तो पर्यटक नहुँदाचाहिँ प्रवद्र्धनका कार्यक्रम कम भएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । त्यसो त अन्तुमा दशैँपछि पर्यटकको सङ्ख्या धेरै कम त छैन तर प्रवद्र्धनका कार्यक्रम ल्याएको भए विगतमा झैँ पर्यटक आउने अनुमान घिमिरेको छ । गएको वर्ष एक लाख २० हजार पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । परिस्थिति सामान्य रहँदै पनि लक्ष्यअुनसार पर्यटक आउने सम्भावना कम थियो । कोरोनापछि त लक्ष्य पूरा हुने अनिश्चित छ ।

विषम परिस्थितिकै कारण सरकारले भ्रमण वर्षसमेत खारेज गर्यो भने कार्यक्रम पनि स्थगन भए । अब भने पर्यटन व्यवसायीको चासो पर्यटकीय गतिविधि कसरी सामान्य बनाउनेतर्फ गएको छ । त्यसै पनि पर्यटनसँग जोडिएका होटल, घरवासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ । सञ्चालन गर्न नसक्दा कतिपय होटल÷घरवासमा ताल्चा लागेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ नल्याएमा पर्यटन क्षेत्र उठ्न नसक्ने इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल बताउँछन् । उनका अनुसार स्थानीय तहले पर्यटकीय गतिविधि बढाउन पर्यटकीय क्षेत्र निश्चित नगरेकाले पनि काम गर्न असहज भइरहेको छ ।

“जुनसुकै ठाउँको पनि पर्यटन प्रवद्र्धन भनेको छ । देखाएको मात्र छ । केही क्षेत्र तोकेको भए व्यवस्थापन गर्न सहज हुन्थ्यो”, पौड्यालले भने, “स्थानीय तहले मुख्य पर्यटकीय क्षेत्रलाई तोक्नुपर्यो । त्यहीअनुसार अघि बढ्न सकिन्छ । नभए पर्यटकीय क्षेत्र उठ्न सहज छैन ।” स्थानीय तहले पर्यटकीय क्षेत्रमा अपेक्षाकृत कार्यक्रम नल्याएकाले पर्यटकीय क्षेत्र उठ्न नसकेको पौड्यालको तर्क छ ।

पछिल्लो समय इलामका नयाँ पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्दै गएको छ । पानीटार, दिदीबहिनी झरना, झण्डीडाँडालगायतका क्षेत्र पनि पर्यटकका रोजाइका क्षेत्र बन्दै गएका छन् । कतिपय क्षेत्रमा चलचित्र र म्युजिक भिडियो खिच्ने टोलीका कारण पनि चर्चा आउन थालेका छन् तर पर्यटकीय क्षेत्रमा स्थानीय सरकारको उपस्थिति भने नगन्य रहेको देखिन्छ । रासस

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board