झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरण ?

काठमाडौं, ३ पुष । कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको छ । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएपछि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, लगायत सर्वसाधारणले यसको विरोध जनाएका छन् भने कतिले सहि निर्णय भयो भनेका छन् ।

तर, उक्त फैसलाको सामाजिक सञ्जालमा भने धेरैजसो चर्को आलोचना भईरहेको छ । यसैबीच पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यो फैसलाको असन्तुष्टि व्यक्त गरेका छन्। नेता डा. भट्टराईले बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्विटरमा प्रतिक्रिया दिदैं नेपाल कम्युनिस्ट पार्टी नेकपाका दिई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डलाई संकेत गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन् ।

जसपाका नेता भट्टराईले सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायत नेपालको सम्भवतः सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद भएको टिप्पणी गरेका छन् ।

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनको भनाई छ । डा. भट्टराईले उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुनेसमेत बताएका छन् ।

‘यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्। अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो! यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम!’, भट्टराईले ट्विट गरेका छन्।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति