बरेङ गाउँपालिकाको हरेक वडामा पुस्तकालय

बलेवा, ३० मङ्सिर । पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले ‘एक वडा एक पुस्तकालय अभियान’ शुरु गरेको छ ।

गाउँपालिकाका पाँचवटै वडामा एक/एक पुस्तकालय स्थापना गर्न थालिएको हो । वडा तहमा छनोट भएका कुनै एक विद्यालयमा प्राथमिक पुस्तकालय स्थापना हुनेछ । पाठ्यक्रममा मात्रै आधारित सिकाइलाई व्यावहारिक बनाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गर्न थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘‘शिक्षामा गरेको लगानी समाजको समग्र विकास हो’’, शर्माले भने, ‘‘पठन संस्कृति र व्यावहारिक ज्ञान पाठ्यक्रमले मात्रै पुग्दैन ।’’ शैक्षिक क्षेत्रमा सुधार र विस्तारको लागि समेत एक वडा एक प्राथमिक पुस्तकालय कार्यक्रम प्रभावकारी हुने उनले बताए ।

गाउँपालिकाले छनोट भएका विद्यालयहरुबाट प्रस्ताव माग्नेछ । विद्यालयले नै ल्याएको प्रस्तावको आधारमा पाँच नयाँ पुस्तकालय बन्नेछन् । ‘‘विद्यालयमा भएको पुस्तकालयले विद्यार्थी र शिक्षक दुवैलाई सहयोग गर्छ’’, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्नुहुन्छ, ‘‘शैक्षिक सुधारको महत्वपूर्ण कडी पुस्तकालय हो ।’’ पुस्तकालय स्थापना गर्न कम्तीमा रु २० हजार गाउँपालिकाले विद्यालयलाई उपलब्ध गराउने विधि बनाएको छ । भवनको व्यवस्थापन भने विद्यालय आफैँले गर्नुपर्ने थापाले बताए ।

विद्यालयका शिक्षक तथा विद्यार्थी समूहले पनि पुस्तकालय सञ्चालन गर्न सक्छन् । ‘‘पुस्तकालय विद्यालयमा भए पनि पाठ्यक्रम बाहिरका उपयुक्त पुस्तकहरु समेत त्यहाँ रहनेछन्’’, थापा भन्छन्, ‘‘ससाना विद्यार्थीले पुस्तक हराउने तथा च्यातिने समस्या भए पनि चिन्ता मान्नु पर्दैन् ।’’

तत्कालका लागि एक वडा एक पुस्तकालय अभियान चलेको भएपनि हरेक विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष शर्माले बताए । ‘‘अहिलेलाई प्राथमिक तहका विद्यालयलाई लक्ष गर्दै ज्ञानको दायरा थप फराकिलो बनाउने योजनाका साथ पुस्तकालय स्थापना हुँदैछन्’’, शर्मा भन्छन्, ‘‘स्वअध्ययनमा केन्द्रित गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।’’ पाठ्यक्रम समयमा सक्ने र विद्यार्थीलाई पठन संस्कृतिप्रति प्रेरित गर्ने महत्वाकाङ्क्षी योजनासमेत गाउँपालिकाले बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति