‘आईजीपी’का एकल दाबेदार :डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं, १६ मंसिर । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो । केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।

हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुनेछन्।

हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डीआइजीलाई बढुवा गर्नुपर्ने भएको हो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board