सम्झनामा म्याराडोनाः विश्व फुटबलमा एक युगको अन्त्य


काठमाडौं – सानै उमेरदेखि कुशल, दूरदर्शी र गतिको दुर्लभ संयोजन भएका महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । जीवनकालमा चार पटक विश्वकप फुटबल खेलेका म्याराडोनाले विश्वभरका फुटबलप्रेमीमाझ अमिट छाप छोडेका छन् । उनको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको मानिएको छ ।

विश्व फुटबलका हस्ती ‘ह्यान्ड अफ गड’ अर्जेन्टिनी मध्यपंक्तिका आक्रामक खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ  । ब्युनस आयर्स स्थित आफ्नै घरमा उनको हृदयाघातका कारण मृत्यु भएको अन्तरार्टि«य संचारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना मात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । त्यस क्रममा उनलाई दुई साता अस्पताल राखिएको थियो । उनी लागुपदार्थ दुर्व्यसनका कारण उनी पटक–पटक रोगसँग जुध्दै आएका थिए । लामो समयदेखि म्यारोडोना कोकिनको लत र मोटोपनबाट जुधिरहेका थिए । प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता, चातुरर्यता, तिक्ष्ण नजर र गतिको दुर्लभ संयोजन थियो । तीनै गुण देखेर विश्वभरका प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे । सानै उमेरदेखि विलक्षण प्रतिभाका धनि म्याराडोना १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए । फिफाका चार विश्वकप खेलिसकेका म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए ।

खेल यात्रा
मेक्सिकोमा आयोजित १९८६ को विश्वकपमा सनसनी मच्चाएका डियगो म्याराडोनाले सोहि विश्वकपबाट ठूलो संख्यामा नेपालीलाई अर्जेन्टिनाको फ्यान बनाउन सफल भए । उक्त विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्ड विरुद्ध गरेका दुई गोल म्याराडोनाको निकै चर्चित रह्यो । हेडबाट गोल गर्ने क्रममा जब म्याराडोनाले हातले पहिलो गोल गरेका थिए, त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेर अहिलेसम्म विश्व फुटबलको इतिहासमा अंकित गरिएको छ । त्यस्तै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै म्याराडोनाले इंग्लिस खेलाडी र गोलरक्षक पिटर सिल्टनलाई छलाउँदै गरेको गोल अहिलेपनि विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ ।

विश्व फुटबल महासंघले सन् २००० मा म्याराडोनालाई शताब्दीकै उत्कृष्ट फुटबलरका रूपमा पुरस्कृत गरेको थियो । ४९१ वटा खेलमा २५९ गोल गरेका म्याराडोनाले अर्जेन्टिनी राष्ट्रिय टोलीमा रहेर ९१ खेलमा ३४ गोल गरेका छन् । म्याराडोनाले चारबटा विश्वकप खेल्ने अबसर पाए । म्याराडोनाकै कप्तानीमा अर्जेन्टिना १९९० मा विश्वकपको फाइनल यात्रा तय गर्न सफल भएको थियो । म्याराडोनाले सन् १९९७ मा ३७ औं जन्मदिनको अवसर पारेर व्यावसायिक फुटबलबाट सन्यास लिएको घोषण गरेका थिए । म्याराडोनाले २००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षकको पनि जिम्मेवारी सम्हालेका थिए । २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलमा जर्मनीसँग क्वाटरफाइनलमा चार शुन्य गोल अन्तरले पराजित भएपछि नैतिकताको आधारमा उनले प्रशिक्षकको जिम्मेवारी छाडिदिएका थिए ।

विवादमा म्याराडोना
म्याराडोना विश्वमाझ जति प्रख्यात छन् उति नै विवादित पनि छन् । आपराधिक सङ्गठन क्यामोर्वासँग जोडिएको आरोप संगै कोकेनको लतमा परे र पारिवारिक मुद्दामा फस्न पुगे । डोपिङ परीक्षणमा पटक-पटक पोजिटिभ देखिएपछि उनले १५ महिनाको प्रतिबन्ध समेत ब्यहोर्नुपर्यो र अन्त्वगत्वा खेल जिवनबाट सन्यास समेत लिनु पर्यो । यसपछि सन् १९९४ मा अमेरिकामा भएको फुटबल विश्वकपमा म्याराडोनालाई प्रतिबन्धित ड्रग एन्फेड्रिन लिएको पाईएको थियो । प्रतियोगिताको बिचैमा उनलाई प्रतिबन्ध लगाईएको थियो ।

म्याराडोनाका निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ । अर्जेन्टिनी राष्ट्रपतिले अर्जेन्टिनालाई फुटबलको माध्यमबाट विश्वको उच्च तहमा पुर्याएको भन्दै सधै म्याराडोनालाई सम्झिरहने बताएका छन् । आर्जेन्टिनामा म्याराडोनाको सम्झनामा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेएको छ । त्यस्तै ब्रजिलका सुप्रख्यात एबम् ख्यातिप्राप्त खेलाडी पेलेले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमाएको भन्दै ट्वीट गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board