विश्वभर ४ करोडभन्दा बढी कोरोना संक्रमित निको : युरोपेली मुलुकहरूमा फेरि लकडाउन

काठमाडौँ, ६ मंसिर । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो । निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ९५१ जनाको मृत्यु भएको छ ।

दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ५११ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार २८६ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जना को अवस्था गम्भीर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board