छठ पर्व सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिँदै

रौतहट, ३ मंसिर । आस्थाको महापर्व छठ आजबाट सुरु भएको छ । आज बुधबार पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनमा नहाय–खाय विधि गरिने चलन रहेको छ ।

कार्तिक शुक्ल चर्तुदशीका दिनबाट शुरु भएको छठको पहिलो दिनलाई नहाए खाए भनिन्छ । यस दिन छठ ब्रत बस्ने ब्रतालुहरु बिहानै उठेर हात खुट्टाको नङ काट्ने तथा चोखो पानीले नुहाईधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरिन्छ । यस दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।

यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने माछा, मासु, दाल, तरकारी र सागपात आदि खाने गरिँदैन । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्नको व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ ।

गम्हरीलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभइ कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठ पर्व विशुद्ध रूपमा प्रकति र पुरूषको पूजा हो ।

सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board