कोरोना संक्रमित पूर्वसांसद चौधरीको निधन

काठमाडौं, ११ कात्तिक । कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको आज निधन भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई बिपी प्रतिष्ठान लगिएको थियो।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए। दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो।

कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उनको आज मृत्यु भएको हो । सुरूमा एमालेको राजनीति गरेका चौधरी पछि माओवादी बनेका थिए। चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति