नेपालमा कोरोनाबाट निको हुनेको संख्या बढ्यो, यस्तो छ संक्रमण अवस्था

काठमाडौँ, ९ कात्तिक । नेपालको पछिल्लो कोरोना भाईरस (कोभिड-१९)को अपडेट तथ्यांकमा संक्रमणमुक्त हुनेको संख्या बढी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढि देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ । शनिबार पनि २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा २ हजार ८४६ जना निको भएका थिए ।

नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १,८४९ र सबैभन्दा कम प्रदेश २ मा ५९ जना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा मात्र १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

यस्तै, नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको सरकारी तथ्याकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board