‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’: कांग्रेसका नेता जोशी

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताए ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताए । “क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो”, नेता जोशीले भने ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गरे । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उनको भनाइ छ । उनले आम नागरिकको रगत र पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति