कामठाडौं, ६ असोज । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाह जिम्मेवारीमुक्त गरिएको छ । प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् । मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारी मुक्त गरिएको पत्र दिएका हुन् । मुख्यमन्त्री शाहीले कामकाज सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको बताए ।
यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख गरिएको छ । आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए ।
त्यही बैठकबाट अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ । साथै दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ । शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएका हुन् । योसंगै कर्णालीमा नेकपा संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

नेपाली नियुक्त
कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना ससदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया