आज विश्व दृष्टि दिवस: तिलगंगा आँखा अस्पतालमा ३ सय जना मोतिविन्दुको नि:शुल्क शल्यक्रिया

काठमाडौं, २२ असोज । दृष्टिप्रतिको आशा, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ अक्टोबर ८ तारिख अर्थात् आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइँदैछ ।

यस दिवसमा विश्वभरिका विभिन्न सङ्घसंस्था, सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापीरुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न विश्व स्वास्थ्य सङ्गठनले एकीकृत जनता केन्द्रित आँखा सेवालाई सम्बोधन गर्न प्रोत्साहित गरेको छ ।

दिवसका अवसरमा नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानले काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका ३०० जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए ।

कोभिड–१९ को महामारीका कारण प्रतिष्ठानले यस वर्ष विभिन्न जिल्लामा आँखा शिविर नगरी आफ्ना शाखा र सामुदायिक आँखा केन्द्रमा अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र सञ्चालन गर्ने जनाएको छ ।

नेपालमा अनुमानित एक लाख पाँच हजार मानिस दृष्टिविहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ । जसमध्ये लगभग ६० प्रतिशत न्यूनदृष्टि महिलामा रहेको प्रतिष्ठानको तथ्याङ्क छ । यसैगरी ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार र १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।

यसैगरी सन् २०१४ मा नेपालका केही भागमा गरिएको सर्भेक्षणअनुसार बालबालिकाको आँखाको रोगसम्बन्धी अध्ययनमा शून्य दशमलव छ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

अन्धोपनाका मुख्य कारणमा मोतिविन्दु र यससम्बन्धी ६५ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत जलविन्दु पाँच प्रतिशत, दृष्टिदोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेका छन् । आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board