काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमध्ये थोरै मानिसमा यसको गम्भीर लक्षण देखिएको छ । तर, यो लामो समयसम्म पनि जारी रहेको छ । संक्रमि व्यक्तिलाई अत्याधिक थकान, निरन्तरको दुखाइ र श्वासप्रश्वासमा समस्या लामो समयसम्म पनि देखिने जस्ता लक्षणहरु देखिएको छ ।
कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा लामो समयसम्म यस्ता लक्षण देखिने अवस्थालाई ‘लङ कोभिड’ नाम दिएको छ । यो प्रभावको कारण सामान्य अवस्थामा फर्किँदा पनि मानिसहरु प्रभावित बन्न सक्छन् । अहिलेसम्म महामारीबाट कसरी मानिसहरुलाई बचाउने भन्नेमा धेरैको ध्यान गएको छ । तर, कोरोना संक्रमितहरुलाई देखिने सक्ने दीर्घकालीन असरको विषयमा चासो दिइएको छैन । यस्तोमा किन कोभिडको असर लामो समयसम्म रहन्छ ? सबै मानिस किन पूर्णरुपमा निको हुन सक्दैनन् ? यसले आशंका पनि उब्जाएको छ ।

अहिलेसम्म चिकित्सकीय भाषामा लङ कोभिडको परिभाषा छैन । साथै यसलाई परिभाषित गर्ने लक्षणहरुको सूची पनि बनेको छैन । त्यसैले लङ कोभिड देखिएका दुई मानिसहरुको अनुभव पनि फरक–फरक हुनसक्छ । धेरैको साझा लक्षण भने अत्यधिक थकान हुनु रहेको बीबीसीले उल्लेख गरको छ ।
अन्य लक्षणहरुमा श्वासप्रश्वासमा समस्या, खोकी, जोर्नी दुख्ने, जीउ दुख्ने, सुन्ने, देख्ने, गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी हुने, मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिनेजस्ता लक्षण रहेका छन् ।त्यसका साथै डिप्रेसन, रिसाउने र राम्रोसँग सोच्न नसक्नेजस्ता समस्याहरु पनि देखिएको केहीले बताएका छन् । यस किसिमका लक्षण देखिएसँगै मानिसको जीवनशैलीमा ठूलो असर पर्नसक्छ । ‘यति धेरै थकान मैले अहिलेसम्म कहिल्यै पनि अनुभव गरेको थिइनँ’, लङ कोभिडको समस्या भएकी एक महिला जेड ग्रे–क्रिस्टीले बताइन् ।
लङ कोभिडको समस्या आईसीयूमा पुगेर फर्किएका संक्रमितलाई मात्र नभई तुलनात्मक रुपमा सामान्य किसिमको लक्षण देखिएका मानिसलाई पनि हुनसक्छ । ‘लङ कोभिड हुन्छ भन्नेमा अब हामीलाई कुनै शंका छैन’, एक्जेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेन भन्छन् । उनले आफ्नो क्लिनिकमा लङ कोभिडको समस्या भएका बिरामीहरुको उपचार गराइरहेका छन् ।

रोमको सबैभन्दा ठूलो अस्पतालमा १४३ जना फलोअपका लागि आउने कोरोनाबाट निको भएका मानिसहरुमा गरिएको अध्ययनको क्रममा ८७ प्रतिशत मानिसलाई करिब दुई महिनासम्म कम्तीमा एउटा लक्षण लङ कोभिडको थियो । जसमध्ये आधाभन्दा धेरैलाई अझै पनि थकानको समस्या थियो ।
यद्यपि यस किसिमको अध्ययन केही अल्पसंख्यक समूहमा मात्र गरिएको थियो । बेलायतमा ४० लाखभन्दा धेरैले प्रयोग गर्ने कोभिड सिम्टम ट्र्याकर एपका अनुसार १२ प्रतिशत मानिसमा ३० दिनपछि पनि कोरोनाको लक्षण जारी रहने गरेको छ । प्रकाशित हुन बाँकी पछिल्लो तथ्यांकले भने ५० जनामध्ये एक जनालाई ९० दिनसम्म पनि लङ कोभिडको लक्षण देखिएको छ ।
अहिलेसम्म यसको कुनै स्पष्ट परिभाषा छैन । तर यसका सम्भावना धेरै छन् । कोरोना भाइरस हाम्रो शरीरको अधिकांश भागमा सकिएको तर कुनै स्थानमा बाँकी भएको अवस्थामा पनि यस्तो समस्या देखिन सक्छ । यदि लामो समयसम्म पनि पखालाको समस्या देखिए पेटमा भाइरस बाँकी छ भन्ने बुझ्न सकिन्छ भने बास्ना थाहा नपाउने समस्या छ भने भाइरस स्नायू तन्तुमा बाँकी हुन सक्छ भनेर बुझ्नुपर्छ । त्यसैले जे समस्या हो, सोही अंगसम्बन्धी समस्या देखिने किंग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर बताउँछन् ।
केही मानिसहरु भने कोरोना संक्रमित लागेपछि मानिसको प्रतिरक्षा प्रणाली नै सामान्य अवस्थामा नआउने भएकाले मानिसको स्वास्थ्य अवस्था कमजोर हुने बताउँछन् । कोरोनाले मानिसको कुनै अंगले गरिरहेको काममा पनि अवरोध सृजना गर्न सक्छ । यसअघि सार्स र मार्सको संक्रमण भएका मानिसहरुको फोक्सोमा पनि लामो समयसम्म समस्या देखिएको थियो । यद्यपि कोभिडले भने मानिसको मेटाबोलिक प्रणालीमा नै असर पार्नसक्ने देखिएको छ । बीबीसी
प्रतिक्रिया