काठमाडौं, २२ असोज । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जना वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।
उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो । उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको अस्पतालले जनाएको छ । ४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
१४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो । वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको छ ।
प्रतिक्रिया