काठमाडौँ, २० असार । मोरङ, सुनसरी र चितवनमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ । मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो । मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो ।
कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको अस्पतालले जनाएको छ । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कानेपोखरीका ती पुरूष सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएका थिए ।उनमा सोमबार साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको उपचारका लागि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।
चितवनमा संक्रमितको मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
धरानमा थप एकको मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको आज विहान ४:२० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया