आइपीएल : हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा


काठमाडौं, १९ असोज । यूएईमा जारी १३औं संस्करणको आइपीएलमा सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गरेको मुम्बईको यो तेस्रो जित हो । सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि हैदराबादलाई जित दिलाउन सकेनन् ।यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।

मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २र२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २र२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईको ५ खेलमा ६ अंक भएको छ । ५ खेलमा ४ अंक जोडेको हैदराबाद छैठौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति