काठमाडौँ, १७ असोज । हुम्लामा पर पुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन् । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य सुवेदीले जानकारी दिए ।
पीडित महिलाका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कुटपिट र अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्ने डीएसपी सुवेदीले बताए । ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ । परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाएको महिलाले भनेकी छन् ।
अहिले पीडित महिलालाई संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । महिलाका दुई वर्षका छोरी र ४ वर्षका छोरा छन् ।
प्रतिक्रिया