कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौं, १४ असोज । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

ढुंगेधारा, काठमाडौंकी ३४ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । असोज ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या आएपछि १२ गते अस्पताल भर्ना भएकी थिइन् ।

काठमाडौंका ५४ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि बुधबार नै अस्पताल भर्ना भएका थिए ।

महिपी, काठमाडौंकी ८६ वर्षीया महिलाको मंगलबार शुक्रराज ट्रपिकल अस्पतालमा मृत्यु भएको छ । भदौ २९ गते अस्पताल भर्ना भएकी उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिइन् ।

ओमसतिया गाउँपालिका–१, रुपन्देहीका ८५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा मृत्यु भइसकेका उनको मुटु, मिर्गौला र फोक्सोको समस्या थियो ।

बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीका ७६ वर्षीय पुरुषको मंगलबार युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ ।

१२ असोजमा आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते भएका उनको उपचारका क्रममा पीसीआर टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

देवदह नगरपालिका –११, रुपन्देहीका ५५ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ११ असोजमा अस्पताल भर्ना भएका उनको मिर्गौलामा समस्यासमेत देखिएको थियो ।

इटहरी उपमहानगरपालिका ५, सुनसरीका ७३ वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेका उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।

हरिनगर गाउँपालिका–२,सुनसरीका ५० वर्षीय पुरुषको बुधबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ९ असोजमा अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

जहदा गाउँपालिका(६, मोरङका ६० वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज ४ गते अस्पताल भर्ना भएका उनलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

राजविराज नगरपालिका–४, सप्तरीका ३९ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । यसैगरी बीपी प्रतिष्ठानमा उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

बुद्धभूमि नगरपालिका(१, कपिलवस्तुकी ५० वर्षीया महिलाको बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ५ असोजमा अस्पताल भर्ना भएकी उनी निमोनिया र मुटुका दीर्घरोगीसमेत थिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१, बाँकेकी ३५ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर २ असोजमा अस्पताल पुगेकी उनी मधुमेह, हाइपोथाइराडिजम र उच्च उक्तचापको बिरामी थिइन् ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको छ । यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक(एक जनाको तथ्यांक समावेश गर्न बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति