पाँच युवाले गरे कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

इलाम,२ असोज । इलामका युवाहरुले यन्त्र रोबोट निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरे । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरे । उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति