परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

काठमाडौं २६ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल/आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो ।

भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि २०७७ मा उल्लेख विधि र प्रक्रिया अपनाउनुपर्नेछ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मत्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड विपरीत हुन नहुने जनाइएको छ ।

यस्तै प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरेको निषेधको आदेशको समयमा अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानुपर्दा पास अनिवार्य गरेको छ । दाहसंस्कारमा जानुपर्ने तथा सरुवा भई जानुपर्ने कर्मचारीलगायतका हकमा सवारी साधन सञ्चालनमा यसअघि सहजीकरण गरिएकोमा अब भने पास लिनुपर्ने जनाइएको छ ।

सम्बन्धित व्यक्तिले अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने गरी कागजातका साथै गन्तव्य जिल्ला प्रशासनको अनुमतिपत्र र स्थानीय तहको सिफारिससहित तोकिएअनुसारको निवेदन दिनुपर्ने छ । सोही आधारमा पास उपलब्ध हुने छ । यस्तै विदेश जाने व्यक्तिको आवातजावतमा सहजीकरण गरिने र भिषा सहजीकरण गर्ने निकायसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति