एकताको बलमै चुनौती छिचोलिएको हो : मुख्यमन्त्री पौडेल

काठमाडौं, २५ भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविध भाषा, धर्म, संस्कृति, परम्पराका बीच पनि नेपालीहरुमा रहेको सहअस्तित्व, समभाव, राष्ट्रिय भावना र एकताको बलमा नै अनेकौँ चुनौतीहरु छिचोल्दै राष्ट्र यहाँसम्म आइपुगेको बताए ।

थारु महिलाको महान चाड जितिया पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जितिया पर्वले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समृद्धितर्फको यात्रामा दृढ सङ्कल्प, इमान्दार प्रयत्न एवं अथक मेहनतका साथ लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरे । “चितवनसहित मधेसका विभिन्न जिल्लामा मनाइने जितिया पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा भने ।

“वाग्मती प्रदेशको चितवन जिल्लामा थारु महिलाद्वारा विशेषरूपमा मनाइने यस पर्वमा निराहार व्रत बसी झाम्टा नाच नाच्ने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । जितियामा व्रत बसे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । जितिया पर्व मिथिला क्षेत्रमा समेत धुमधामका साथ मनाइँदै आएको छ । धार्मिक तथा सांस्कृतिकरूपमा समेत यस पर्वले आपसी सद्भाव, भाइचारा, प्रेम र करुणाको सन्देश दिँदै आएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति