भारत-चीन तनाव: विवाद साम्य पार्न के गर्दैछन् दुई देश ?

काठमाडौं । भारत–चीन सीमा क्षेत्रमा गएराति दुबै तर्फका सेनाले लद्दाखमा गोली चलाएका थिए । यो घटनाको विषयमा अहिले भारत र चीनबीच अरोप प्रत्यारोप भईरहेको छ । लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ। बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको भारतको दाबी छ ।

विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए । प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकहरूले हावामा गोली हानेको भारतको दाबी छ ।

गत राति चिनियाँ सेनाले भारतीय सैनिकहरूले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो । विश्लेषकहरूका अनुसार सन् १९७५ पछि उक्त क्षेत्रपछि सीमामा गोली चलेको यो पहिलो पटक हो । गत जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकहरूको मृत्यु भएको थियो। त्यो बेला गोली भने चलेको थिएन।

चीन के भन्छ ?
सन् १९९६ भएको एउटा सम्झौताअनुसार दुवै देशहरू विवादित मानिएको एलएसीमा हतियार प्रयोग गर्न पाउँदैनन्। तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपहरू हुने गरेका छन्।

भारतीय सेनाहरू अवैध रूपमा एलएसी पार गरेर चिनियाँ भूभागमा प्रवेश गरेको चिनियाँ सरकारी समाचारसंस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ । पीएलएका एक प्रवक्तालाई उद्धृत गर्दै उसले यस्तो विवरण दिएको हो।

भारतीय सेना के भन्छ ?
भारतीय सेनाले आफ्नो एउटा वक्तव्यमा भनेको छ, सेप्टेम्बर ७ सोमवार चिनियाँ सेना पीएलएका सेनाहरूले लाइन अफ एक्चूअल कन्ट्रोल एलएसीस्थित भारततर्फ बढ्ने कोसिस गरेको बीबीसीले उल्लेख गरेको छ ।

हाम्रा सैनिकहरूले उनीहरूलाई त्यहाँबाट लखेटे, उनीहरूले हावामा गोली चलाएर हाम्रा सैनिकहरूलाई तर्साउन खोजे । उसले चिनियाँ फौजले उक्साहटपूर्ण कार्य गरे पनि भारतीय सैनिकहरू संयमित भएको र परिपक्व एवम् जिम्मेवार व्यवहार गरेको जनाएको छ । भारतीय सेनाले चीनका वेस्टर्न थिएटर कमान्डले वक्तव्यमार्फत् आफ्नै देशभित्र र अन्तर्राष्ट्रिय जगतलाई झुक्याउने प्रयास गरेको आरोप पनि लगाएको बीबीसीले उल्लेख गरेको छ ।

विवाद साम्य पार्न के गर्दैछन् ?
भारत र चीनबीचको पछिल्लो विवाद भारत र चीनका विदेशमन्त्रीबीच भेटघाट हुने बेलामा देखा परेको हो। भारतीय विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने भ्रमणका लागि मस्को जाने बीबीसीले जनाएको छ ।

उनी साङ्घाई सहयोग सङ्गठनका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनका लागि रुस जान लागेका हुन्। आठ सदस्य रहेको साङ्घाई सहयोग सङ्गठनमा भारत र चीन दुवै सदस्य छन्।

यो बैठकका क्रममा जयशङ्करले चिनियाँ समकक्षी वाङ यीलाई भेट्ने खबर आएको छ। मस्को जाने क्रममा जयशङ्कर तेहरानहुँदै जाने र त्यस क्रममा इरानी विदेश मन्त्रीसँग पनि भेटघाट गर्ने सम्भावना भएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board