सीमा क्षेत्रमा ४५ वर्षपछि दुबैतर्फबाट फायरिङ, भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक

काठमाडौं, २३ भदौ । भारत–चीन सीमा क्षेत्रमा गएराति फायरिङ भएपछि भारतीय तीनवटै सुरक्षा निकायको बिशेष बैठक भईरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज इमेरजेन्सी बैठक बोलाएका हुन् । भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

इमेरजेन्सी बैठकमा रक्षामन्त्री सिंहले सिडिएस एवं पूर्व सेना प्रमुख बिपिन रावत र तीनवटै सेनाका प्रमुखसँग चीनसँगको सीमा क्षेत्रमा भइरहेका क्रियाकलाप र अबको रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । भारतीय सेनाले गएरातिको घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सेनाले सुरुमा फायरिङ गरेको र त्यसको जवाफ दिइएको जनाएको छ । विज्ञप्तिमा चीनले आफूहरुलाई उत्तेजनामा ल्याउनका लागि उत्तेजक गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले भने भारतीय आरोपको खण्डन गर्दै भारतले एकतर्फी फायरिङ गरेको जनाएको छ । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको अवस्था असामान्य बनेको छ । गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो ।

भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् । सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक फायरिङ भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् । आफ्नो शक्ति सीमा क्षेत्रमा खटाएका छन् । चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board