पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर

काठमाडौं २० भदौ । भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगेका थिए । “शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पु¥याइसकेका उनले भने “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपाई संग एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक थिए । उनले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पु¥याइसकेका छन् । उनले भने , “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”

जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुन् । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले औंल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आभएकी छिन् । “जब जब कोरोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उनले भने ।

सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उनले राम्ररी पालना गरेको बताए । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उनी घर पनि गएका छैनन् । कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए ।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनले कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् । जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पु¥याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति