जीवनशैली

समय यकिन नभएकाका मृत्युको श्राद्ध कुन तिथिमा गर्ने ?

काठमाडौं, १८ भदौ । बुधबारदेखि सोह्र श्राद्ध सुरु भएको छ । १५ दिनसम्म चल्ने सोह्र श्राद्धमा विभिन्न समयमा देहान्त भएका पितृहरूको नाममा तर्पण दिने गरिन्छ । एक महिनामा कृष्ण र शुक्ल पक्ष गरी जम्मा १६ वटा तिथि हुन्छ । श्राद्ध किन गर्ने भन्ने अर्थमा शास्त्रमा एउटा मत हुन्छ । श्राद्ध शब्दको अर्थ श्रद्धासँग जोडिएको छ । जसलाई हामी श्रद्धा गर्छौं त्यो नै श्राद्ध हो । त्यसैले जुन तिथिमा आफ्ना पितृहरूको देहान्त भएको छ । आश्विन कृष्ण पक्षक सोही तिथिमा सोह्र श्राद्ध मनाउने गरिन्छ ।

बाबु आमाको मृत्यु भएको दिन थाहा नभएको खण्डमा भने अमावश्याको दिन श्राद्ध गर्ने गरिन्छ । पितृहरूलाई खुसी गराउनको लागि आश्विन महिनाको एक पक्षभरि हिन्दु धर्मालम्बीहरूले सोह्र श्राद्ध मनाउने गरिन्छ ।हिन्दु संस्कारअनुसार कुनै पनि मान्छे जन्मिएपछि तीन किसिमको ऋणको भारी बोकेर आएको हुन्छ । त्रि–ऋणमा देव ऋण, पितृ ऋण र ऋषि ऋण रहेका हुन्छन् ।

यसलाई आधार मान्दा जन्मलगत्तै हामीहरू पितृ अर्थात् अभिभावकसँग ऋणी भएर जन्मिएका हुन्छौं । श्राद्ध परम्परा पनि यही त्रि–ऋण पूरा गर्ने क्रममा आउने परम्परा हो । श्राद्ध किन गर्ने भन्ने प्रश्नमा विभिन्न हिन्दु शास्त्रमा यस्तो श्लोकहरू भेट्न सकिन्छ ।

को हो श्राद्धको अधिकारी ?

श्राद्धको लागि पुत्र नै मुख्य अधिकारी हुन्छ भन्ने मान्यता छ । पुत्रको अर्थ लैङ्कि आधारमा केटामान्छेलाई मात्रै त्यसले समेटेको नभई निकट वा आफ्ना सन्तानलाई नै पुत्रको रूपमा धर्मशास्त्रहरूले परिभाषित गरेको छ । पु नामको नरकबाट तार्नेलाई नै पुत्र भनिन्छ भन्ने पनि एकाथरीको तर्क छ ।

तर पितृसत्तात्मक समाजमा बाबुको तर्फबाट वंश अघि बढ्ने भएकोले छोरालाई नै श्राद्धको अधिकारी मान्ने गरिएको हो । छोराको अभावमा नाति र उसको अनुपस्थितिमा त्यसभन्दा पछिल्लो पुस्ताले क्रमशः श्राद्ध कर्म गर्ने चलन छ । छोरा नहुँदा पत्नीले पनि श्रद्धा गर्ने गरेको परम्परा कताकतै देख्न सकिन्छ ।

श्रीमतीको श्राद्ध पनि पतिले गर्न सक्छन् । यदि बुबाका धेरै छोराहरू छन् भने जेठो छोरोले श्राद्ध गर्नुपर्छ । अलगअलग बस्नेहरूले भिन्दाभिन्दै श्राद्ध पनि गर्ने गर्छन् ।

कहाँ बसेर गर्ने श्राद्ध ?

श्राद्धका लागि सबैभन्दा पवित्र स्थान गया तीर्थ मानिन्छ, जुन फाल्गु नदीको किनारमा अवस्थित छ । सबैको लागि यो सम्भव हुँदैन । यस्तो अवस्थामा जुनसुकै देवालयको किनार या नदीको दोभानलाई पनि पवित्र मान्ने गरिन्छ । जस्तो पशुपति मन्दिरमा वाग्मती किनार, टेकु दोभान जस्ता क्षेत्र श्राद्धको लागि पवित्र मान्ने गरिन्छ ।

श्राद्ध कहिले र कसरी गर्ने ?

पानी, तिल, दूध, कुश र फूलहरू सहित तर्पण र श्राद्ध गर्नु गाईलाई घाँस खुवाउनु, ब्राह्मणलाई खाना खुवाउनु नै श्रद्धाको मुख्य काम हो । यस साधारण तरिकाले गरेको कामलाई वेवास्ता गर्न मिल्दैन । श्राद्ध कर्म मध्य दिनमा गर्नु अधिक फलदायी मानिन्छ । यसले पितृहरू बढी खुसी हुन्छन् भन्ने मान्यता छ ।

पिण्डदान मृत्युको दिनमा गरिन्छ । देवता र मुनिहरूलाई पानी दिइसकेपछि पितृहरूलाई पानी दिएर सन्तुष्ट गराउने गरिन्छ । विशिष्ट किसिमको श्रद्धाका लागि केही नियमहरू हुन्छन् । नवमी तिथि आमाको श्राद्धका लागि उपयुक्त मानिन्छ । त्यस्तै, युद्धमा मरेका र शस्त्रागारबाट मरेकाहरूको श्राद्ध चतुर्दशीको दिन गर्ने चलन छ ।

अन्यथा पितृहरूको देहावसान भएको तिथिमा श्राद्ध गरिन्छ । सो दिन गर्न नमिल्ने भएमा असोजको औसीमा, त्यसदिन पनि नमिल्ने भएमा नवरात्रको पञ्चमीमा, त्यसदिन पनि नमिल्ने भएमा गाईतिहारे औंसीमा पनि सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता रहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board