जोखिम भत्ताको माग गदै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

झापा,१६ भदौ । मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरेका हुन् ।

यही भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताए ।

डा पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । “हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ”, उनले भने “सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु प¥यो ।”

उनका अनुसार उनीहरुको माग सुनुवाई नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।

उनले प्रक्रिया पु¥याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने “सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उनीहरुको मागको सम्बोधन हुन्छ ।” अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति