प्रचण्ड दोस्रो पटक कोरोना आइसोलेशनमा

काठमाडौं १५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बसेका छन् ।

प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रचण्ड पनि थप स्वास्थ्य सुरक्षाका लागि आइसोलेशनमा बसेका हुन् । दुई हप्ता पहिले पनि प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीमा कारोना पोजेटिभ देखिएपछि प्रचण्ड परिवारनै एकान्तवासमा बसेको थियो ।

आइतबारदेखि भने प्रचण्ड परिवार आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् । प्रचण्ड परिवारका अन्य कोही पनि सदस्य तथा सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छैन ।

पछिल्लो पटक पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षकाबीचमा सघन छलफल गरी ठोस प्रस्ताव बनाएर भदौ १८ गते सचिवालय बैकठ बस्ने तय भएको थियो । आइतबार पनि दुई अध्यक्षले वान अन वान छलफल गर्ने कार्यतालिका रहेको थियो । प्रचण्डले आइतबार विहान मात्र आफ्ना थप ३ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिन आइसोलेशनमा बसेपछि मात्र दुई जनाबीच छलफल गर्नु उचित हुने बताएको खुमलटार श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलको गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराइएको थियो । कोरोना संक्रमणका लागि मृगौला र मुटु रोगसम्वन्धी विरामीहरु बढी जोखिममा रहने हुनाले मृगौलाका विरामी प्रधानमन्त्रीसंग केही दिनपछि मात्र छलफल गर्ने प्रचण्डले निर्णय गरेका हुन् ।

नेकपा सचिवालयको बैठक गत १३ गते बस्ने भनिएकोमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोनाबाट आशंकित रहेका कारण सचिवालयको बैठक १८ गतेसम्म सरेको थियो । पछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । थप केही मन्त्रीहरुमा पनि कोरोना पोजेटिभको आशंका भएकाले आइतबारको मन्त्रिपरिषद्को बैठकमा समेत चर्चा भएको थियो ।

नेकपा उच्च स्रोतका अनुसार सम्भवत १८ वा १९ गते दुई अध्यक्षबीच सघन छलफल भएपछि मात्र सचिवालयको बैठक र स्थायी समितिको बैठक हुने बताइएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय पार्टीमा उत्पन्न समस्या समाधान कार्यदलले गत ६ गते दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक पनि भइसकेका कारण सत्तारुढ दलभित्रको विवाद समाधान भएको मानिएको छ ।

तर पछिल्लो समय कोरोना संक्रमण देशभर र राजधानीमा समेत तीव्र रुपमा बढेकाले स्वास्थ्य जोखिम भने झन बढ्न पुगेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यको ख्याल गरेर जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए ।

यो पनि

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board