न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

न्यूजील्यान्ड, ११ भदौ । न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।

न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएको हो ।

फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भने, “तिम्रा कार्यहरु अमानवीय थिए । तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ ।”

मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए । सरकारले उक्त घटना लगत्तै एक कानुन पारित गरी अर्ध–स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।

आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि गरेका थिए । चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए । अदालत बाहिर भेला भएका उनीहरुले टारान्ट शैतान रहेको बताएका थिए । कतिपयले कुरान पाठ गरेका थिए ।

टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए । आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए । न्यायाधीश म्यान्डरले मस्जिदमा गरिएको आक्रमणप्रति कुनै पश्चाताप नगरेको पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board