झापामा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्रको गोली लागी एक जनाको मृत्यु

काठमाडौं, ११ भदौ । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधवार बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आज अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए ।

प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board