एक परिवारका सबै सदस्यहरुलाई डोरिले बाँधेर कुटपिट

चितवन, १० भदौ । रक्सी नदिएको निहुँमा पूर्वी नवलपरासीको गैंडाकोटमा एक परिवारका सबै सदस्यलाई डोरीले बाँधेर केही युवाहरुले कुटपिट गरेका छन् । गैडाकोट नगरपालिका–१ लेटेटाँडीकी आइतीमाया गुरुङका परिवारलाई मंगलबार राति रक्सी खान आएका केही युवाहरुले डोरीले बाँधी कुटेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट आइतीमाया, उनका आमाबुबा लगायत ५ जना घाइते भएका हुन् । घटनाका विषयमा सूचना आएपछि राति नै इलाका प्रहरी कार्यालय गैंडाकोटले परिवारका पाँचै जना सदस्यलाई उद्धार गरी अस्पताल लगेको थियो । घटनास्थलमा पुग्दा उनीहरुलाई डोरीले बाँधिएको र घाइते अवस्थामा पल्टिरहेको भेटिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

घाइतेमध्ये एकजनाको टाउको फुटेको छ भने अर्का एक व्यक्तिको पिठ्युँभरि निलडाम रहेको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । घटनामा ५ जना संलग्न रहेको खुल्न आएको प्रहरीको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board