नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

नुवाकोट,९ भदौ । नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद्सिटिइभिटी ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका –१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ ।

सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो ।

केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले यसै शैक्षिकसत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिए ।

बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि सङ्घीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख पण्डितका अनुसार नुवाकोटमा पहिलो पल्ट स्थापना हुन लागेको सिटिइभिटीको आङ्गिक शिक्षालयमा पशु विज्ञान, बाली विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन, सिभिल इञ्जिनीयरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र फार्मेसीतर्फ तीनवर्षे डिप्लोमा कार्यक्रम प्रस्तावित गरिएको छ ।

भौतिक व्यवस्थापनका लागि हाल त्रिभुवन त्रिशूली माविको भवन, शहीद प्रतिष्ठान भवन र वागवानी कृषि केन्द्र भवनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिने छ । नुवाकोटको तुप्चेमा जन्मिएका बोगटी तत्कालीन नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीसम्म भएका थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board