सप्रिएको धानबालीमा देखियो रोग, किसान चिन्तित्

विराटनगर, ८ भदौ । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देवनारायण चौधरी यस वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी थिए । तर, गाँज बढिरहेका बेलामा रोग देखिएपछि उनलाई चिन्ता परेको छ ।

“केही दिनअघिसम्म खेतमा लगाइएको धान राम्रो थियो । अहिले गाँज बढिरहेका बेलामा केही ठाउँको धानमा गुबो काटिएको देखिएको छ”, उनले भने, “हामीलाई कीटनाशक औषधि र प्राविधिकको खाँचो छ ।”

चौधरी मात्र होइन, पूर्वका सुनसरी, मोरङ र झापाका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन् । अहिले गुणस्तरीय बीउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री र सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा किसान समस्यामा आएको चौधरीको भनाइ छ । गाँज बढिरहेका बेलामा धानबालीमा गबारो र डढुवा नामको रोग देखिएको हो । गबारोका कारण पोटा लाग्ने धानको गुबो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार अहिले सुनसरी, मोरङ र झापाका किसानले लगाएको धानबालीमा गवारो र डढुवा रोग लागेको देखिएको छ । यसप्रति तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ । खेतमा गुबो काटिएको देखिएपछि कुन विषादी प्रयोग गर्ने भन्ने सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ ।

कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले धानबालीमा देखिएको रोग नियन्त्रणका लागि किसानले गबारो, माउ पुतली र फुलका थुप्रा पहिचान गरी नष्ट गर्नुपर्ने, प्रकाश/उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खल्बलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने बताए ।

धानको गाँज बढिरहेका बेला गुवो खाइदिने समस्या भएपछि किसान अहिले मर्माहत छन् । लामो सयमपछि यस वर्ष पूर्व क्षेत्रमा ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । कार्यालयका अनुसार गएको वर्ष यस क्षेत्रमा ५६ दशमलव ७४ प्रतिशत अर्थात् एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा मात्र धानबाली लगाइएकामा यस वर्ष तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान खेती भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताईन् ।

बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्राविधिकलाई फिल्डमा निस्कन समस्या परेको बताइएको छ । “अहिले कोरोना सङ्क्रमणको जोखिम उच्च छ, त्यसमा पनि जथाभाबी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत छैन”, प्राविधिक भन्छन्, “भ्याएसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौं ।” समयमै रोपाइँ गरेको र पानी पनि पर्याप्त भएको हुँदा यस पालि राम्रो उत्पादन लिने आशामा रहेका किसान अहिले कीराले बिरुवा सखाप पार्नथालेपछि बिलखबन्द छन् । रोग नियन्त्रणका लागि सरकारले तत्काल पहलकदमी लिनुपर्ने किसानको माग छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति