अमेरिकामा ‘प्लाज्मा थेरापी’लाई अनुमति, के हो प्लाज्मा थेरापी ?

काठमाडौं, ८ भदौ ।  अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।

निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए।

उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन्। साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ–आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन्।

ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप पनि चाँडै बन्ने विश्वास व्यक्त गरे। कोरोनाभाइरस विरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि बढ्दो दबाब छ। कोरोनाभाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ।

एफडिएले दिएको प्रारम्भिक विवरण बमोजिम कोरोनाभाइरस सङ्क्रमितहरूमा सुरुकै अवस्थामा प्लाज्मा थेरापीको प्रयोग गर्दा एक महिनापश्चात् उनीहरू बाँच्ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ।

प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडिएले जनाएको छ। तर यसको यथार्थ प्रभावकारिता थप क्लिनिकल ट्रायलपश्चात् मात्र यकीन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।

स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन्। कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना अहिले नै नकार्न नसकिने कैयन् वैज्ञानिकको भनाइ छ। अमेरिकामा करिब ७० हजार बिरामीमा यसको प्रयोग भएको बताइन्छ।अहिले अमेरिकामा कोरोनाबाट ५८ लाख बढी मानिस सङ्क्रमित छन् भने एक लाख ८० हजार मानिसको ज्यान गइसकेको छ ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्माथेरापी प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो ।

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ। यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board