आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न आह्वान गरेको छ ।

रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्त ऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदिको परिकार एक छाक मात्र खाएर व्रतवस्नु पर्ने विधि रहेको छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिर पनि कोरोना संक्रमणका कारण बन्द छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board