तयार भए उपत्यकामा होटल क्वारेन्टिनका लागि ६ हजार बेड,यस्तो छ होटलहरुको सूची र दररेट

काठमाडौं, ६ भदौ । सरकारले चार्टर्ड उडान मार्फत स्वदेश आउने नागरिकलाई होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाका लागि होटलको सूची र दररेट सार्वजनिक गरेको छ ।

काठमाडौं जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई स्वेच्छाले होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची तयार गरी सार्वजनिक गरेको छ । कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो ।

पर्यटन विभागले उपलब्ध गराएको होटलको नाम र दररेटका आधारमा सूची तयार पारिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सार्वजनिक भएको सूचीमा उपत्यका भित्र रहेका तारे होटल, पर्यटन होटल र साना तथा मझौला होटल गरी २ सय २० होटलमा कुल ३ हजार ५ सय बेड क्षमता रहेको छ । होटलको सूची सँगै होटलहरुमा बस्दा लाग्ने दररेट र खानाको मेनु समेत समावेस गरिएको छ । जसमध्ये पाँचतारे होटलमा एक्लै बस्दा प्रतिदिन ९ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ ।

चार तारे होटलका लागि एकजना बस्दा प्रतिदिन ८ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिदिन ५ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनतारे तथा डिलक्स रिसोर्टमा एकजना बस्दा प्रतिदिन ६ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । दुई तारे होटल तथा स्टाण्डर्ड होटलका लागि एकल ५ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । एक तारे होटलमा एकल बस्दा ४ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board