कोरोनाबाट नेपालमा बिहीबार साँझ थप पाँच जनाको मृत्यु

काठमाडौं, ५ भदौ । नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका छन् । भरतपुर अस्पतालले विज्ञप्ति जारी गर्दै एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुष ६ दिन अघि कोरोना पुष्टिभइ भरतपुर अस्पतालको आइसीयुमा उचाररत थिए । ती पुरुष दीर्घरोगी थिए ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकका ७४ वर्षका पुरुषको वीरगंज हेल्थ केयरको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका संयोजक डाक्टर दीपक कुसुवाका अनुसार ती पुरुष बुधबार साँझ ६ बजेर १५ मिनेटमा अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि भदौ २ गते नारायणी अस्पतालमा पुगेका थिए ।

उनको ३ गते नारायणी अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि उनलाई बुधबार साँझ ६ बजे नारायणी अस्पतालबाट हेल्थ केयरको कोरोना विशेष अस्पतालको आइसीयुमा राखिएको थियो । उनको बिहीबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

यसैगरी वीरगंजकै नारायणी अस्पतालमा बाराका एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार बारा कलैयाका ५९ वर्षका पुरुषको मृत्यु भएको हो । डा सिंहका अनुसार ती पुरुषलाई बुधबार राति ८ बजे अस्पतालमा अन्तिम अवस्थामा ल्याइएको थियो ।

उनको उपचार शुरु नहुँदै मृत्यु भएको र मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार दिउँसो रिपोर्ट पोजेटिभ आएको डा सिंहले बताए । त्यसैगरी रुपन्देहीका अर्का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले बताए । उनका अनुसार ती पुरुषलाई १५ दिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।

तर निको नभएपछि ती पुरुषका आफन्तले बिरामी अवस्थामै ती पुरुषलाई साउन २९ गते घर फर्काएका थिए । तर, गाउँमा कोरोना संक्रमण बढिरहेको अवस्थामा बिरामी व्यक्ति उपचार नै नगराइ ल्याइएको भन्दै गाउँलेहरुले बिरोध गरेपछि ती पुरुषलाई साउन ३० गते पुनः देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

साउन ३० गतेदेखि नै उनको त्यहाँ आइसीयुमा उपचार थालिएको थियो । उनको कोरोना परीक्षण गर्दा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुषको उपचारकै क्रममा बिहीबार साँझ ६ बजेर ४५ बजे मृत्यु भएको बञ्जाडेले जानकारी दिए । यस्तै सप्तरीका अर्का एक पुरुषको पनि मृत्यु पछि कोरोना पुष्टि भएको छ । सूचना अधिकारी नारायण राउतका अनुसार सप्तरीको राजविराज –४ का २८ वर्षका एकजना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । ती पुरुषलाई स्वास्थ्य समस्या देखिएपछि भदौं १ गते गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि सो अस्पतालबाट उनलाई भदौं १ गते नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौं १ गते नै उपचारका क्रममा मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको राउतले बताए । उनको भदौं ३ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको साँझमात्र जानकारी आएको र भदौं ४ गते ३ बजेतिर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको उनले बताए । यी सबै मृतकहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board