उपराष्ट्रपति उम्मेदवारमा नोमिनेशन स्वीकार गर्दै कमलाले भनिन् -‘आज आमा पनि भैदिएको भए’

काठमाडौं, ४ भदौ ।  कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारमा डेमोक्रेटिक नोमिनेशन औपचारिक रुपमा स्वीकार गरेकी छिन् । उनले बुधबार डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक नोमिनेशन स्वीकार गर्ने क्रममा दिवंगत आमालाई सम्झिन् । कमला ह्यारिसकी आमा श्यामला गोपालनको सन् २००९ मा निधन भएको थियो । कमला ७ बषकी हुँदा आमाबुबाबीच पारपाचुके भएपनि आमा श्यामलाले कमलालाई एक्लै हुर्काउनुपरेको थियो ।

नोमिनेशन स्वीकार गर्दै कमलाले भनिन् -‘मेरी आमाले मलाई सिकाउनुभएको थियो कि अरुलाई सेवा गरेमामात्र जीवन उद्देश्यपूर्ण र अर्थपूर्ण हुन्छ । म चाहन्थें कि आजको राती उहाँ पनि यहाँ भइदिएको भए हुन्थ्यो । तर मलाई थाहा छ उहाँले मलाई माथिबाट हेरिरहनुभएको छ ।’

‘संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिका लागि म मनोनयन स्वीकार गर्छु । शायद यी शब्दहरु बोल्ने दिन आउने कुरा मेरी आमाले मलाई जन्मदिने बेलामा कल्पना समेत गर्नुभएको थिएन ।’ –  कमलाले भनिन् । डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक नोमिनेशन स्वीकार गरिसकेपछि अब कमला मुख्य राजनीतिक दलको टिकट पाउने पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी महिला भएकी छिन् । राष्ट्रपति उम्मेदबार जो बाइडेन कमलाको उम्मेदवारी स्वीकार लगत्तै स्वागत गर्न स्टेजमा आएका थिए ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचारका शीर्षकहरुमा रहेकी थिइन् । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । नोभेम्बर ३ को चुनावमा बाइडेनले जीतेमा उनले पनि स्वत चुनाव जित्नेछिन् । अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् । अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् । कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board