कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स

काठमाडौं,३ भदौ । विभिन्न कारणले बासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई उद्धार गरेर सहजै बासस्थान पु¥याउन र समयै उपचार गर्न छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । यसअघि अन्य सवारी साधनमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा उपचार गरिँदै आइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अब वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्थासहितको एम्बुलेन्सले उद्धार गर्ने छ । विशेषगरी कास्की आसपासमा बढी मात्रामा चितुवा शहरी क्षेत्रमा देखिने हुँदा त्यसको उद्धारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको छ । उनले गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ सुई हानेर बेहोस बनाउने विधि गर्ने टोली नहुँदा पनि उद्धारमा समस्या हुँदै आएको र सोका लागि काठमाडौं वा सौराहाको टोली झिकाउनुपर्ने बाध्यता रहेको बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि रु डेढ करोड बजेट विनियोजन गरेको थियो ।

सोही बजेटमार्फत डिभिजन वन कार्यालय कास्कीले रु ४६ लाख लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए । उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको र त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ ।

श्रेष्ठले उद्धारका लागि डार्टिङसहितको टोली तयार गर्ने योजना रहेको बताए । “हामी डार्टिङसहितको दक्ष टोली नै तयार गर्ने योजनामा छौं, । त्यो जनशक्तिका लागि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट माग गरेका छौँ ।” उनले वनजन्तु उद्धार केन्द्रको डिपिआरमै डार्टिङ टोलीको पनि व्यवस्था छ भन्ने उल्लेख भएकाले सोही योजनानुसारको जनशक्ति माग गरी परिचालन गर्ने तयारी रहेको जानकारी दिए ।

श्रेष्ठका अनुसार डार्टिङ टोली तयार नभइसक्दा प्रयोगविधिअनुसार वन्यजन्तु उद्धार गरिने छ । चितुवाको लागि छुट्टै खोर नै चाहिने र एम्बुलेन्समा सो उपलब्ध भएकाले धेरै सहज हुनेछ । स्कोरपिया गाडीको ढाँचा परिवर्तन गरेर एम्बुलेन्समा ढालिने छ । त्यसमा साइरन, माइक र खोर जडान गरिएको छ । बन्दाबन्दीका कारण डार्टिङ गन र औषधि भने आइपुगेको छैन ।

उनले डार्टिङसहितका एम्बुलेन्स काठमाडौं र चितवन पछि गण्डकी प्रदेशमा पहिलो भएको जिकिर गरे । वन्यजन्तु उद्धारका लागि छुट्टै एम्बुलेन्स सञ्चालन भएपछि अब सहज हुने जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले बताए । उनले निर्माणाधीन उद्यानमा रहेको वन्यजन्तु उद्धार केन्द्रका लागि थप भएको पूर्वाधारले प्रदेशमै वन्यजन्तु उद्धारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कास्कीमा गत वर्ष सात चितुवा उद्धार गरिएको थियो । त्यसमा दुई मृत फेला परेका थिए । डार्टिङसहितको एम्बुलेन्सले विशेष गरी चितुवाको उद्धार र संरक्षणमा बढी सघाउ पुग्ने विश्वास गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board