तय भएका सबै उद्धार उडान स्थगित, घर फर्कन लागेका नेपाली विमानस्थलमै अलपत्र

काठमाडौं २ भदौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।

सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान आजदेखि स्थगन गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए । नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो ।

कोरोनाको सङ्क्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्नेक्रम पनि बढिरहेकाले होटल क्वारेन्टिनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।

सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टिन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ । उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जनाएको छ । सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको सङ्ख्या ५१ हजार ७६१ रहेको छ ।

दुबईबाट रित्तै फर्कियो निगमको जहाज

नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको छ । काठमाडौँबाट २३१ यात्रु लिएर सोमबार दुबई गएको वाइड बडी जहाज आज बिहान काठमाडौँ फर्किएको हो । काठमाडौँबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले आजदेखि अनिश्चितकालका लागि सबै अन्तर्राष्ट्रिय चार्टड उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

यता नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सूचना निकालेर आज कतारको काठमाडौँ–दोहा गन्तव्यका लागि तय गरेको उद्धार उडान स्थगित गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board