प्रधानमन्त्रीलाई भेटेर देउवाले गराए यस्तो ध्यानाकर्षण

काठमाडौं, १ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले विभिन्न बिषयमा ध्यानाकर्षण गराएका छन् ।

आजको भेटमा संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

देउवाले प्रधानमन्त्री ओलीलाई सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान जानुका साथै कयौँ बेपत्ता भएको घटनाकोसमेत ध्यानाकर्षण गराएका छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नदिनु अत्यन्तै दुःखद भएको देउवाको भनाइ छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्ने देउवाको ध्यानाकर्षण छ ।

साथै देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको तर सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न देउवाले आग्रह गरेका छन् । यस्तै, सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको रसंक्रमण तीब्र गतिमा बिस्तार भएको भन्दै बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार असफल रहेको बताएका छन् । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर हुनुपर्ने देउवाको भनाई छ ।


देउवाका तीन बुँदे ध्यानाकर्षण
१, सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु-याउनु अत्यन्तै दुःखद भएको छ ।  यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२, कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?

३, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ ।  निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

यो पनि…
बालुवाटारमा ओली-प्रचण्डसँग देउवाको छलफल

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति