नेकपा: विवाद समाधानका लागि गठन गरिएको कार्यदल सचिवालयबाट अनुमोदन

काठमाडौं, १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्वयले बनाएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ । नेकपाको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

यसैअनुरुप सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको हो । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

असार १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला नेकपामा एकाएक प्रधानमन्त्रीको राजिनामाको विषय प्रवेश गरेपछि विवाद बढेको थियो । प्रधानमन्त्रीले असार १६ गते बालुवाटारमै आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारत लागेको र पार्टीभित्र पनि त्यसको प्रभाव परेको बताएका थिए । त्यसको कडा प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले राजिनामा भारतले नभई आफूले मागेको बताएका थिए । त्यसपछि नेकपा बैठक बस्न सकेन । पछिल्लो पटक ओलीले एकतर्फी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि नेकपा बिभाजनको सँघारमा पुगेको थियो ।

यो पनि
नेकपाको सचिवालय बैठकः कार्यदललाई कार्यादेशसमेत दिने

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board