नेकपाको सचिवालय बैठकः कार्यदललाई कार्यादेशसमेत दिने

काठमाडौँ, १ भाद्र ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला झण्डै एक महिनापछि आज सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।

यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो । साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच पटक पटकका छलफलपछि गत शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएर पार्टीभित्र उत्पन्न समस्या समाधानकाका लागि सुझाव पेश गर्न जिम्मा दिइएको थियो ।

सो कार्यदलको दुईपटक बैठक समेत बसिसकेको छ । बरिष्ठ नेता नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टीको बैठकबाट कार्यदल गठन गरेको भए त्यसले संस्थागत मान्यता पाउने बताएपछि कार्यदललाई अनुमोदन गर्न आज बैठक बसेको हो । बैठकले सो कार्यदललाई कार्यादेशसमेत दिनेछ ।

कार्यदलमा भीम रावल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । दुई अध्यक्षबीच मोटाामोटी समझदारी भइसकेको र त्यसैलाई लिखित रुपमा बैठकबाट अनुमोदन गर्नेगरी कार्यदलले मस्यौदा गर्ने नेताहरुले जानकारी दिएका छन् ।

सचिवालय बैठकले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको समय समेत तोक्ने भएको छ । सो कार्यदलले तयार पारेको सहमतिको मस्यौदा दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा छलफल गराइने भएको छ ।

असार १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला नेकपामा एकाएक प्रधानमन्त्रीको राजिनामाको विषय प्रवेश गरेपछि विवाद बढेको थियो । प्रधानमन्त्रीले असार १६ गते बालुवाटारमै आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारत लागेको र पार्टीभित्र पनि त्यसको प्रभाव परेको बताएका थिए । त्यसको कडा प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले राजिनामा भारतले नभई आफूले मागेको बताएका थिए । त्यसपछि नेकपा बैठक बस्न सकेन । पछिल्लो पटक ओलीले एकतर्फी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि नेकपा बिभाजनको सँघारमा पुगेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board