कोरोनाको त्रास: कुन जिल्लाको अवस्था कस्तो छ ?

काठमाडौं, १ भदौ । नेपालमा पछिल्लो समय पुनः कोरोना भाईरसका संक्रमण देखिने क्रम तिब्र छ । सरकारले कोरोना महामारी रोक्नका लागि देशका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ भने कति स्थानहरुमा त लकडाउन नै जारी गरिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै हरेक दिन सय जना नयाँ संक्रमित यपिन थालेका छन् । सरकारले संक्रमण फैलिदै गएपछि खुकुलो बनाइएको लकडाउनमाथि विभिन्न प्रतिबन्धहरु थप गरेको छ । राजधानीमा लकडाउन खुलेसँगै भिडभाड बढेको तर, अहिले सुनसान देखिन थालेको छ ।

पूर्णरुपमा लकडाउन नगरिए पनि संक्रमण देखिएको स्थानलाई शिल गर्नेदेखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ गरिएको छ । त्यस्तै, प्रशासनले भीडभाडलाई कम गर्नका लागि प्रतिबन्धका नियमहरुलाई कडाइ साथ लागू गर्न थालेका छन् ।

सिन्धुपाल्चोकमा लकडाउन, बजार सुनसान
सिन्धुपाल्चोक, १ भदौ । कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी यहाँ एक सातासम्म लकडाउन गरिएको हो ।

शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र अब संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

यस अवधिमा कुनै व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम,, प्रदर्शन, शैलुन र खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालयमा आवश्यक सेवा भने बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

सिरहाका सबै स्थानीय तहमा १५ दिन लकडाउन
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिए ।

यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताए ।

त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिनुभयो । नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।

जुम्लामा पुनः निषेधाज्ञा
जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २९२० र स्थानीय प्रशासन ऐन २०२८, को ६ ९३० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने, “स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।”

यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

हेटौँडामा थपियो निषेधाज्ञा
मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने, निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उहाँका भनाइ छ । निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहने छ ।

त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटाँैडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोनाको त्रासः त्रिविका काम अब घरबाटै
काठमाडौँ, १ भदौै । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए ।

उहाँका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस प्रमुखले मिलाउने व्यवस्था गरिएको छ । लकडाउन खुकुलो भएपछि त्रिविले पढाइ र परीक्षाबाहेकका सबै सेवा सञ्चालन गरेको थियो । तर पुनःउपत्यकासहित मुलुकभर कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले सवै सेवा बन्द गरेको हो ।

यस्तै त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्य स्थगित गर्ने र अत्यावश्यक भई कार्यालयमै उपस्थिति भई कुनै कार्य गर्नुपर्ने अवस्थामा सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित निकाय प्रमुखले समन्वय गरी सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गरी गर्ने गराउने उल्लेख छ । त्रिविले पछिल्लो पटक सङ्क्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा परीक्षाको तयारीसमेत गरेको थियो । तर सङ्क्रमण बढेपछि हाललाई परीक्षाको तयारीसमेत स्थगित गरेको छ ।

कोरोना संक्रमित बढ्दैछ, क्वारेन्टिन रित्तिँदैछ
काभ्रेपलाञ्चोक – केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् ।

गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । यसमध्ये ३२ उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । हाल ४३ आइसोलेशनमा उपचाररत छन् । केही दिनदेखि कोरोना भाइरस समुदायमासमेत फैलिन थालेपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय गम्भीर बनेको पाइएको छ ।

विगत तीन दिनदेखि कारोना सङ्क्रमितसँग निरन्तर सम्पर्कमा रहेकाले आइतबारदेखि पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झासमेत एकान्तबासमा हुनुहुन्छ । “केही दिनदेखि निरन्तर सङ्क्रमितसँग सम्पर्कमा रहेकाले म हाल ‘सेल्फ क्वारेन्टिन’मा छु, अब कार्यालयको काम मोबाइल र इन्टरनेटबाट नै गर्छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमित बढिरहेकाले जिल्लाका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता भइसक्यो ।

काभ्रेका स्थानीय तहले पनि धमाधम आफ्नो क्षेत्रमा कोरोना सङ्क्रमित देखिदै÷बढ्दै गएपछि निश्चित क्षेत्र तथा मुख्य नाका सिल गरिरहेका छन् भने सूचनामार्फत स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन सार्वजनिक अपिल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलले पनि सूचना जारी गर्दै कारोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मानिसको जमघट, भेला भिडभाडबाट उक्त रोगको सङ्क्रमण फैलनसक्ने भएपछि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका बजार क्षेत्रमा आत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमीनार, छलफल र भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेपछि स्थानीय तहले सतर्कता अपनाउन आम नागरिकका आग्रह गर्न थालेका हुन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिलमा सङ्क्रमण दर दिनानुदिन बढिरहेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । उनले भने, “कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणको एकमात्रै उपाय स्वास्थ्यसुरक्षाको मापदण्ड अपनाउनु नै हो, यो जिल्लाका नागरिकले अपनाउनै पर्छ ।” उनका अनुसार जिल्लाका अन्य स्थानीय तहले सुरक्ष सतर्कता अपनाउन अपिल गरिरहेका छन् ।

त्यसो त, पछिल्लो समय तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्ने काभ्रेलीको बसाई अवधि सकिएपछि सङ्ख्या घटिरहेकाले रित्तिने अवस्थामा पुगेका छन् । तेह्र स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन श्यया व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ ।

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा १०४ पुरुष र १६ महिला बसेका छन् । जसमध्ये बनेपा नपामा १६, धुलिखेलमा १९, पनौतीमा ११, पाँचखालमा छ, नमोबुद्धमा छ, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा २७, तेमालमा १४ र भुम्लुमा १२ जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौँरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिइसकेका छन् ।

छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९१५ पुरुष र १९१ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्
कस्तो छ विश्वमा कोरोना महामारीको अवस्था ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board