कस्तो छ विश्वमा कोरोना महामारीको अवस्था ?

जेनेभा, स्वीट्जरल्याण्ड, १ भदौ । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । ब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार १४७ को मृत्यु भएको छ ।

एसिया ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।


भारतमा कति पुग्यो संक्रमितको संख्या ?
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ ।यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोनाबाट जापानको अर्थतन्त्रमा झण्डै २८ प्रतिशत संकुचन
जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ ।

जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७।८ प्रतिशतले गिरावट आएको जनाएको छ ।

जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्र राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोनाभाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड–१९ बाट संक्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका छन् ।

यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०।६ प्रतिशतले घटेको थियो । गत वर्ष सन् २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १।८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो । यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो ।

सामान्यतया, दुई त्रैमासिक अवधिसम्म लगातार अर्थतन्त्रमा संकुचन आए अर्थव्यवस्था मन्दीमा गएको बुझिन्छ । अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो भने वैयक्तिक उपभोग्य दरमा वार्षिक करिब २९ प्रतिशतले कमी आएको थियो ।

विज्ञहरुका भनाईमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै अर्थतन्त्रमा विस्तारै सुधार हुनेछ । जापानको निर्यातमुखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको छ । चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी कदम चाले पनि चिनियाँ उत्पादनको बजार माग खस्किएको अध्ययनहरुले देखाएका छन् ।

कोरोनाभाइरसको खोप निर्माणले मूर्तरुप लिन सके विश्व अर्थव्यवस्था पुरानै लयमा फर्कनेछ, तर यस्तो खोप तत्कालै बजारमा उपलब्ध हुनेमा अझै आशंका छ । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या हालसम्म करिब ५६ हजार छ ।

दक्षिण कोरियामा फेरि फैलियो संक्रमण
दक्षिण कोरियामा फेरि कोरोना भाईरसका संक्रमित देखिन थालेको छ । पछिल्लो २४ घण्टामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस कोभिड–१९ का नयाँ संक्रमित फेला परेका छन् । सोमबार दिइएको जानकारी अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएका अधिकांश संक्रमितको सम्बन्ध साराङ जेइल चर्चसँग जोडिएको छ । यो चर्चका पास्चर राष्ट्रपति मुन जाइ इनका आलोचकको रुपमा देखिँदै आएका छन् ।

यसअघि दक्षिण कोरियामा सिन्चेओन्जी चर्च अफ जेससबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो चर्चबाट पाँच हजार दुई सयभन्दा धरैमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

दक्षिण कोरियामा गत मार्चपछि पहिलोपटक एकैदिन दुईसयभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । यससँगै दक्षिण कोरियामा कोरोना भाइरका समग्र संक्रमितको संख्या १५ हजार ३१८ पुगेको छ ।

दक्षिण कोरियाको राजधानी सहर सोलको नगरस्तरीय सरकारले दिएको जानकारीअनुसार साराङ जेइल चर्चबाट कोरोना भाइरस सरेका १९३ नयाँ संक्रमित फेला परेका हुन् ।

राष्ट्रपति मुनले कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले चर्चका सबै चार हजार ६ सय मानिसको कोरोना परीक्षण गर्न गइरहेका छन् ।

राष्ट्रपति मुनले सिन्चेओन्जी चर्चमा कोरोना भाइरसको संक्रमण देखिएपछिको यो सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । यस महिनाको सुरुमा सिन्चेओन्जी चर्चका नेता ली मान ही पक्राउ परेका थिए । उनीमाथि समूहका मानिसहरु र भेला भएका मानिसहरुको सूचना लुकाएको आरोप थियो ।

अध्ययन भन्छ– प्लाज्मा थेरापी कोरोना उपचारमा निकै फलदायी
मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् ।

संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । खोप ९भ्याक्सिन० विकास गर्नुअघि सयौं वर्षदेखि यो विधि विभिन्न ज्वरो ९फ्लु० र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो ।

नयाँनयाँ रोग निस्कँदा औषधि र खोप दुबै नहुँदा मानिसको जीवन जोखिममा पर्नु स्वाभाविक हो । यस्तो आपतकालीन स्थितिमा वैज्ञानिकहरुले प्लाज्मा थेरापीलाई तत्कालै उपलब्ध विधिका रुपमा प्रचलनमा ल्याउने गरेका छन्, तर यो विधि सबै किसिमका संक्रमणमा सफल भएको छैन ।

हालसम्म कोरोनाभाइरस विरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम र उपयुक्त नै छ भन्ने ठोस वैज्ञानिक आधार तयार भइसकेको छैन, र यस्तो अवस्थामा यसको उपयोग गर्नु कति ठीक होला ? तर प्लाज्मा दिइएका करिब ३५,००० बिरामीको प्रारम्भिक तथ्याँक विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मायो क्लिनिकका मुख्य अनुसन्धाता डा माइकल जोयनरले बताएका छन् ।

कोरोना संक्रमण देखिएको तीन दिनभित्र प्लाज्मा दिइएका व्यक्तिको मृत्युदर ज्यादै न्यून रहेको छ । जोयनरका अनुसार शरीरमा भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टीबडीको सख्त जरुरी परेका बिरामीलाई समेत प्लाज्मा थेरापीले धेरै मद्दत गरेको छ ।

समस्या कहाँनेर छ त ?
यो औपचारिक अध्ययन भने होइन । अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए को निर्देशिका बमोजिम संयुक्तराज्य अमेरिकाका विभिन्न अस्पतालमा बिरामीको भिन्नभिन्न तरिकाबाट उपचार भइरहेको छ ।

अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रष्ट जानकारी छैन । हाल देशभरबाट प्रमाणहरु संकलन गर्ने अभियान संचालनमा छ ।

“करिब १०२ वर्षदेखि हामी प्लाज्माले साँच्चिकै काम गर्दछ वा गर्दैन भनेर हामी बहस गरिरहेका छौं,” न्यूयोर्क विश्वविद्यालयकी डा मिला ओर्टिगोजाले बताए । उनले सन् १९१८ मा पनि फ्लुको महामारीका दिनमा प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो । यस पटक हामीलाई विवादरहीत ठोस प्रमाणहरुको खाँचो छ, उहाँले भने ।

ओर्टिगोजाले यस्तै एउटा अध्ययनको सहसंयोजकका रुपमा कार्य गरिरहेका छन् । यसै साता यो समूहले अरु तीन वटा राज्यहरु – कनेक्टिकट, फ्लोरिडा र टेक्सास – मा अध्ययन गर्दैछ । प्लाज्मा उपचारको निष्कर्ष जतिसक्दो चाँडो सार्वजनिक गर्न मुलुकका अन्य क्षेत्रबाट पनि तथ्याँक विवरणहरु संकलन गर्ने तयारी ओर्टिगोजा टिमको छ ।

“स्पष्ट उत्तर कहिले प्राप्त होला भन्ने सबैको चासो छ,” सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा जेफ्री हेन्डरसनले भने । उनले क्लिनिकल ट्रायलहरु अघि बढ्ने विश्वास व्यक्त गर्दै मायो क्लिनिकको प्रतिवेदन सानो संख्याका बिरामीको तथ्याँकमा आधारित रहेको बताए ।

शरीरभित्र कुनै नयाँ जीवाणु प्रवेश गरेमा शरीरले यसविरुद्ध लड्न प्रोटिन नामको एन्टीबडी बनाउँछ । यस्तो एन्टीबडी प्लाज्मामा रहेको हुन्छ, र यसको रंग पहेंलो–पहेंलो र तरल रुपमा हुन्छ । एन्टीबडी निर्माण हुन केही साता लाग्ने भएकाले कुनै व्यक्तिको एन्टीबडी राख्दा बिरामीलाई भाइरस विरुद्ध लड्न मद्दत गर्दछ र त्यसबीचमा व्यक्तिको रोगप्रतिरोधी क्षमता विकास हुन्छ ।

मायोका नतिजाहरुलाई वैज्ञानिक अध्ययनका लागि वेबसाइटमा खुला राखिएको छ । कोरोना संक्रमित भएको तीन दिनभित्र उच्च गुणस्तरको एन्टीबडी प्लाज्मा दिइएका व्यक्तिमध्ये २० प्रतिशतको ३० दिनभित्र मृत्यु भएको थियो जबकी न्यून गुणस्तरको एन्टीबडी प्लाज्माबाट उपचार गरिएका ३० प्रतिशतको मृत्यु भएको थियो ।

एफडीएले आपतकालीन प्लाज्मा उपचार विधिलाई अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा गहन अध्ययन गरिरहेको जनाएको छ । एफडीएले यसका बारेमा शुक्रबार कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

कोभिड–१९ बाट निको भएका दशौं हजार व्यक्तिले प्लाज्मा दान गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितको संख्या बढेसँगै प्लाज्मा दान गर्न मानिसलाई उत्प्रेरित गर्नेक्रम जारी छ । अमेरिकी रक्तसंचार केन्द्र संघले एक तिहाई अस्पतालहरुले अनुरोध गरेको २४ घण्टाभन्दा बढी समयपछि मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको जनाएको छ ।

प्लाज्मा उपचार प्रभावकारी भए नभएका बारेमा प्रष्ट नभए पनि वैज्ञानिकहरु यो उपचार विधि कहिले शुरु गर्नुपर्छ भन्ने बुझ्न चाहन्छन् । उनीहरु प्लाज्मा दिँदा गम्भीर बिरामीलाई वा प्रारम्भिक दिनहरुमा दिनु पर्दछ अथवा कुन डोज सही हो भन्ने जान्न चाहन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board