लिदीको बस्ती स्थानान्तरण गरीने : पहिरोमा परेका ११ को सनाखत, ५ घाइतेको उपचार हुँदै


सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेर मृत्यु भएकाहरूको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार चार महिनाको बालकसहित पहिरोमा परेर ११ जनाको मृत्यु पुष्टि भएको छ। शुक्रबार गएको पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको हो।

उनीहरूमध्ये केहि एकै परिवारका सदस्य हुन्। लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएको थियो। ३९ जना बेपत्ता थिए। तीमध्ये ११ जनाको मृत्यु भएको हो। शव सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ताको खोजि जारी छ।

पहिरोमा परी घाइते जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

यसैवीच गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव् बनाइने गृहमन्त्रीको भनाइ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board