राहत वितरण गरेको खर्चमा अनियमितता, छानबिन गर्न माग

लहान, २९ साउन । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् । औरही गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन अगाडि प्लेकार्डसहित युवाले हिजो प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा ठूलो अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका नाममा सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नेपाली काँग्रेसका नेता महेश चौधरीले सूचना माग गरेका छन् । नेपाली काँग्रेसका राज्यव्यवस्था समितिका सदस्यसमेत रहेका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालसँग सूचना माग गरेका हुन् । सूचनाको हक प्रयोग गरी सूचनाका लागि नगरपालिकामा निवेदन दर्ता गराएको चौधरीले जानकारी दिए ।

कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टिन व्यवस्थापनका लागि खरिद गरिएको सामग्रीको खरिद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मूल्यसहित सूचना माग गरिएको छ । त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा समान खरिद गरिएको भन्दै सिरहा नगरपालिकामा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

आठ स्थानीय तहमा लकडाउन
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा अनिश्चिकालका लागि बन्द गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी आफ्नो एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए ।

उनले अत्यावश्यक काम नपरेसम्म सेवाका लागि नआउन र आउनै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रहसमेत गरेका छन् । यस्तै कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहाको आठ स्थानीय तहले साउन ३२ गतेसम्म लकडाउन गरेको छ । पछिल्लोपटक सिरहाको सुखीपुर नगरपालिका तथा भगवानपुर र विष्णुपुर गाउँपालिकाले छुट्टाछुटै सूचना प्रकाशित गरी आजदेखि साउन ३२ गतेराति १२ बजेसम्म आआफ्नो पालिकाभित्र लकडाउन गरेको जनाएको छ ।

कोरोना सङ्क्रमित बढ्दै गएकाले समुदायस्तरमा सङ्क्रमण फैलिने सम्भावनालाई दृष्टिगत गरी लकडाउन गरिएको ती पालिकाले जनाएको छ । भिडभाड हुने हाटबजार क्षेत्र, पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन साउन ३२ गतेसम्म नगरक्षेत्रमा लकडाउन गरिएको सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादवले जानकारी दिए । सिरहाको १७ स्थानीय तहमध्ये यसअघि सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढीमाई र सिरहा नगरपालिकाले साउन ३२ सम्म लकडाउन गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board