ट्रिब्युनले डेली न्यूजसहित पाँच वटा समाचार कक्ष बन्द गर्ने

वासिङ्टन, २९ साउन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँच वटा अखबारको प्रकाशन बन्द हुनेछ ।

तर कोरोनाभाइरसका कारण घरबाटै काम गरिरहेका भन्दै फ्लोरिडाको ओर्लान्डो सेन्टिनेल, पेन्सिलभेनियाका दी मर्निङ कल र मेरिल्यान्डको क्यारोल काउन्टी टाइम्सको प्रकाशन भने यथावत रहने छ । यी अखबारका कामदारलाई कम्तीमा जनवरी २०२१ सम्म घरबाटै काम गर्न भनिएको छ । सिकागो मुख्यालय रहेको कम्पनीका प्रवक्ता म्याक्स राइन्स्डोर्फले परिस्थितिमा सुधार आएमा सोही बमोजिम निर्णय हुने जानकारी दिए ।

कुनै समय देशकै सर्वाधिक बढी बिक्री हुने डेली न्यूज अखबारमा केही वर्षदेखि नै आर्थिक संकट देखापरेको थियो । पछि यो अखबार ट्रिब्युन पब्लिसिङ कम्पनीलाई सन् २०१७ मा १ डलरमा अखबारका संस्थापक मोर्टिमर जुकरम्यानले बिक्री गरे । ट्रिब्युनले डेली न्यूज खरिद गरेसँगै आधा कर्मचारी कटौती गरिदिएको थियो ।

यस अखबारको न्यूयोर्क प्लाजामा रहेका कार्यालयहरु बुधबारदेखि औपचारिक रुपमा बन्द हुँदैछन् । कर्मचारीलाई आफूसँग रहेका सबै सामान कम्पनीलाई हस्तान्तरण गर्न अक्टोबर ३० सम्मको समयावधि दिइएको छ । ट्रिब्युनले हाल सिकागो ट्रिब्युन, दी बाल्टिमोर सन, भर्जिनियाको डेली प्रेस र दी भर्जिनियन–पाइलट तथा हार्टफोर्ड कुरान्ट प्रकाशन गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board