उपराष्ट्रपति उम्मेदबारमा जो बाइडेनले छाने कमलालाई


अमेरिका, २८ साउन । डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको उपराष्ट्रपति उम्मेदबारमा राष्ट्रपति उम्मेदबार जो बाइडेनले कमला ह्यारिसलाई छनौट गरेका छन् । चुनाव जितेको खण्डमा कमला ह्यारिस पहिलो एसियन अमेरिकन र अश्वेत अमेरिकी उपराष्ट्रपति हुनेछन् । साथै पहिलो महिला उपराष्ट्रपति समेत हुनेछिन् ।

डेमोक्रेटिक प्राइमरीमा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिएकी कमला ह्यारिस चुनावी दौडका क्रममा मैदान छाडेकी थिइन् । ५५ बर्षीय कमला ह्यारिस क्यालिफोर्नियाबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने सिनेटर समेत हुन् ।

कमला ह्यारिसले बाइडेनको चुनावी सहयात्रीका रुपमा अगाडि बढ्नु आफ्नालागि गर्वको कुरा रहेको बताएकी छिन् । बाइडेन र ह्यारिसले बुधबार बाइडेनको गृहक्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board